भिरालो ठाउँ । एकान्त, सामसुन्न पनि ।त्यही ठाउँमा सुन्न र बोल्न नसक्नेहरूले उज्यालो जीवनको फराकिलो सपना देखिएरहेका छन् ।२०७७ साल असार १७ गतेको बर्खेझरीले ल्याएको विपत्तिले उनीहरूको सपनामा भाँजो हाल्न खोजेको थियो । श्रवणशक्ति कमजोर भएकाहरूले पढ्ने धादिङ जिल्लाको एक मात्र सामुदायिक विद्यालय स्वावलम्बी बहिरा आधारभूत विद्यालयलाई कति बेला पहिराले निल्ने हो भन्ने जोखिम थियो ।सुन्न र बोल्न नसक्नेहरूको अव्यक्त पीडा कसले सुनिदिनू ! कसले बुझिदिनू !
आँगनमा खतरा मडारिएको देख्दा त्यहाँ अध्ययन, अध्यापनरत विद्यार्थी, शिक्षकहरू झसङ्ग हुन्थे ।ठूलो पानी नपरिदेओस् भन्दै प्रकृति पुकार्थे । आफूले जाने जत्ति ईश्वरका नाम सम्झिन्थे ।
बोलेर बताउन नसक्नेहरूको अमूर्त चीत्कार तयार नेपालले बुझिदियो । त्यसपछि उनीहरूको डर मत्थर भएको छ । अमेरिकी सहयोग नियोग युएसएआइडीको तयार नेपाल परियोजनाले नीलकण्ठ नगरपालिकासँगको सहकार्यमा निर्माण गरेको बाह्र फिट अग्लो पर्खाल उनीहरूको रक्षकवच बनेर उभिएको छ । अनि भरोसा बनेको छ—त्यहाँका विद्यार्थीहरूको ।
दिउँसोको समय थियो, हामी त्यहाँ पुग्दा विद्यालयमा नियमित पठनपाठन भइरहेको थियो । साङ्केतिक भाषाका माध्यमबाट जीवनको उज्यालो मार्ग कोरिरहेका विद्यार्थीहरू पुलकित देखिन्थे ।स्वावलम्बी आधारभूत विद्यालय धादिङको सदरमुकाम धादिङबेसीबाट १५ मिनेटमै पुग्न सकिन्छ ।श्रवणशक्ति कमजोर भएका बालबालिकाहरूले पनि अन्य बालबालिका सरह पढ्न पाउन भन्ने उद्देश्यले २०६८ सालमा आवासीय रूपमा सामुदायिक विद्यालय स्थापना गरिएको थियो ।
विद्यालयमा जिल्ला बाहिरका रसुवा, नुवाकोट, सोलुखुम्बु, सिरहा, सर्लाही, चितवन, नवलपरासी, काठमाडौं, दाङ पूर्व÷पश्चिम, रुकुम पूर्व÷पश्चिम, डडेलधुराका गरी ४५ जना बालबालिकाहरू रहेका छन् ।
नीलकण्ठ नगरपालिका वडा नम्बर ८ सिप्लिगानेमा पहेलो रङ पोतेका दुईटा भवन छन् । शान्त ठाउँमा बालबालिकाहरू कोही दौडिरहेका, कोही नाचिरहेका त कोही हाँसिरहेका हुन्छन् ।
त्यहाँ पुग्ने जो कसैको मनै हर्षित हुन्छ ।
जब स्कुलमा आगन्तुक पुग्छन्, उनीहरूले नयाँ अनुहार देख्छन्, ती विद्यार्थीहरूको मुहारमा खुसीको सीमानै हुँदैन । सबैले आ–आफ्नो तवरले नमस्कार गर्दै झ्याम्मिन आइपुग्छन् ।
उनीहरू सुन्न र बोल्न त सक्दैनन् तर सुसंस्कारले भरिपूर्ण छन् । उनीहरूको अनुहार जिज्ञासा र कौतूकले भरिएको आभास हुन्छ । यी सबै बालबालिकाहरूको मुख्यआधार विद्यालयका संस्थापकशिक्षक रामप्रसाद अधिकारी हुन् ।
ज्वालामुखी गाउँपालिका वडा नम्बर ४ ढोला घर भएका अधिकारी आफैपनि जन्मजात सुन्न र बोल्न सक्दैनन् ।
उक्त विद्यालय स्थापना हुनुअघि उनले नीलकण्ठ वडा नम्बर ८ मै रहेको ससाह देउराली माध्यामिक विद्यालयमा श्रवणशक्ति कमजोर भएका विद्यार्थीहरूलाई पढाउँदै आएका थिए । जिल्ला शिक्षा समन्वय एकाइ धादिङले श्रवणशक्ति कमजोर भएका बालबालिकाहरूलाई पढाउने छुट्टै स्कुल बनाउने निर्णय गरेपछि उनी उक्त विद्यालयका प्रधानाध्यापकको रूपमा नियुक्त भएका हुन् ।
उनलाई दोभाषेको रूपमा आफ्नै श्रीमती नीता कट्टेलले सघाइरहेकी छन् । जहाँ रामप्रसाद पुग्छन्,श्रीमती पनि सँगसँगै हुन्छिन् । हाल उनी आफ्नो परिवारसँगै नीलकण्ठ वडा नम्बर ८ मै बसोवास गर्दै आएका छन् ।
रामप्रसादको अनुहारमा ती बहिरा बालबालिकाले आफ्नो सुन्दर भविष्य देखेका छन् ।तर पहिरोले यही विद्यालयको आधा भाग भत्काएर लगेको थियो । २०७७ साल असार १७ गते परेको अविरल वर्षाले विद्यालयको आँगन भत्कायो ।सुरूमा आगनको केही भाग खसेको थियो । टेवा—पर्खाल लगाएर रोकथामको कोसिस नगरिएको होइन । दोस्रो पटक झन् ठूलो क्षति पु¥याउँदै विद्यालयको आँगन भत्कियो ।पहिराले अाँगनै लगेपछि विद्यालय जोखिममा परेको र विद्यार्थीहरूलाई सुरक्षित राख्न कठिन भएको रामप्रसादले बताए ।‘दिउँसोको समयमा पहिरोको छेउमा डोरी टाँगेर बालबालिकाहरूलाई खेल्न दिन्थ्यौं,’ रामप्रसादले भने, ‘रातिको समयमा थप पहिरो चल्यो भने कसरी बच्ने होलाभन्ने चिन्ताले सताइरहन्थ्यो ।’
धादिङकै धुनिवँेशी नगरपालिक स्थित नौबिसेकी जीना श्रेष्ठले छोरा रिजनलाई सोही आवासिय विद्यालयमा राखेकी छिन् । उनका छोरा जन्मजात नै हिँडडुल गर्न र बोल्नसमेत सक्दैन् ।
छोरालाई पढाउने विद्यालय खोज्दै जाँदा जिनाले धादिङमै स्वाबलम्बी विद्यालय भेटिन । त्यस्तै बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर १० का रामकुमार चेपाङले पनि ५ वर्षीया छोरी रुविनालाई यही विद्यालयमा राखेका छन् । छोराछोरी बस्ने, पढ्ने विद्यालयमा पहिरो चलेको खबरले उनीहरुलाई बिचलित बनायो । तर उनीहरुसँग विकल्प केही थिएन ।
त्यही बेला नीलकण्ठ नगरपालिकासँग विपद् व्यवस्थापनमा सहकार्य गरिरहेको तयार नेपाल परियोजना दर्बिलो सहारा बनेर आइपुग्यो ।त्यति बेला आफूलाई ठूलो ओत फेला परेजस्तो भएको रामप्रसाद बताउँछन् । नगरपालिकाको प्राविधिक टिमले विद्यालयमा नै आएर सर्भेक्षण ग¥यो । त्यसपछि ६४ लाख लागतमा दुई महिना भित्रमै पहिरो खसेको ठाउँमा पर्खाल उठाइदियो । नगरपालिका र तयार नेपालको मद्दतले रामप्रसादको सिंगो संसारलाई पुरानै लयमा फर्काएको मात्र छैन, शैक्षिक सामग्रीहरू समेत विद्यालयलाई उपलब्ध गराएको छ ।अहिले प्रविधिमैत्री शिक्षा प्रणाली रहेको हुनाले सुन्न र बोल्न नसक्ने बालबालिकाहरूको लागि वस्तुगत रूपमा देखाउन ती सामग्री निकै प्रभावकारी बनेको रामप्रसाद बताउँछन् ।
सुरूमा पर्खाल मात्रै लगाउने सम्झौता भएको थियो । तर छेकबार समेत लगाएर बालबालिकाको जोखिम दूर गरिदिएको छ । उनीहरूको दिनचर्यालाई व्यवस्थित बनाइदिएको छ । अहिले विद्यार्थीहरू निर्बाध र स्वतन्त्र भएर विद्यालयको आगनमा खेल्न पाएका छन् । त्यत्ति मात्रै होइन लड्ने चोटपटक लाग्ने जोखिमबाट पनि मुक्त बनेको रामप्रसादले बताए ।
‘पर्खालले सहारा मात्रदिएको छैन, विद्यालयलाई सुन्दरसमेत बनाएको छ,’ रामप्रसाद आफ्नो खुसी सुनाउँछन् ।बहिरा विद्यालयको पहिरो रोकथाम गर्न धेरै जरुरी थियो । त्यसैले तयार नेपालसँग समन्वय गरेर पर्खाल बनाएको नीलकण्ठ नगरपालिकाका प्रवक्तासमेत रहेका वडा नम्बर ८ का अध्यक्ष प्रकाश श्रेष्ठले बताए ।
‘विद्यालयमा पहिरो गएको सूचना आएपछि हामी अनुगमनमा गयौं । वडाले निर्णय गरेपछि नगरकार्यपालिकाले पनि निर्णय गर्यो,’उनले भने,‘त्यसपछि अमेरिकी सहयोग नियोग युएसएआइडीको तयार नेपाल परियोजनासँग सहकार्य गरेर ६४ लाख लगातमा पर्खाल बनाइयो।’अध्यक्ष श्रेष्ठले बताए ।
पहिरोको रोकथाम भईसकेपछि बहिरा बालबालिकाहरूलाई राति बत्ति जाँदा समस्या हुने गरेकोले ६ लाख बराबरको इन्भर्टर पनि जडान गरिदिएकोे पनि उनले बताए । अमेरिकी सहयोग नियोग युएसएआइडीको तयार नेपाल परियोजना अन्तर्गत जोखिम न्यूनीकरणका लागि प्राप्त भएको बजेटबाट विद्यालयमा पर्खाल लगाएतका काम भएको पालिकाको विपद्फोकल पर्सन विनोद अर्यालले बताए ।‘विद्यालयको भवन जोखिममा छ भनेर निवेदन दिनुभयो। त्यही बेला नगरपालिकामा तयार नेपाल परियोजना लागु भयो,’ उनले भने, ‘नगरपालिकाले बालबालिकाहरूलाई जोखिम मुक्त गर्न सहयोग गरेका हौं ।’फोकल पर्सन अर्याल बताए ।
‘विपद्को जोखिममा महिला, बालबालिका, वृद्धवृद्धा, अशक्त, अपांगता भएकाहरू हुन्छन् ।अझ श्रवणशक्ति कमजोर भएका बालबालिकाहरू झन् बढी जोखिममा हुन्छन् । भूकम्प, बाढी—पहिरो आएको उनीहरूले थाहा पाउन सक्दैनन् । त्यसैले उनीहरुलाई सुरक्षित राख्ने दायित्व सरकारको हो । स्थानीय सरकारलाई तयार नेपालको यो किसिमको सहयोग र सहकार्यले धेरै मद्दत मिलेको छ ।’ पालिकाको विपद् फोकल पर्सन अर्याल बताए ।
तस्बिर : सुशिला विश्वकर्मा
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |