देशको राजधानी काठमाडौ लगायत विभिन्न कारागारबाट भागेर आएका ४७ जना कैदी बन्दीहरुलाई धादिङबाट नियन्त्रणमा लिइएको छ । जेन–जी आन्दोलनको मौका छोपेर कारागारबाट भागेका मध्ये विहिबार ३ जना महिलासहित ४७ जनालाई नियन्त्रणमा लिएर नुवाकोट पठाइएको धादिङका प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीले जानकारी दिनुभयो । पृथ्वीराजमार्गका विभिन्न स्थानहरुमा नेपाली सेनाले बुधबारदेखि चेकजाँच गरिरहेको छ ।
बुधबार तीन जनालाई धादिङकै गल्छी बैरेनीबाट नियन्त्रणमा लिएको थियो । प्रमुख जिल्ला अधिकारी सुवेदीका अनुसार नियन्त्रणमा लिएकाहरुमा कारागार कार्यालय जगन्नाथदेवलका २९ जना, कारागार कार्यालय नख्खुका १३ जना, कारागार कार्यालय भीमफेदीका ४ जना र कारागार कार्यालय तनहुँका १ जनालाई पक्राउ गरिएको हो । पक्राउ परेका ३ जना महिला नै कारागार कार्यालय जगन्नाथदेवलबाट फरार भएका हुन् ।
चेकजाँचको क्रममा सोधिखोजी गरेर कैदीबन्दीहरुको पहिचान गर्ने गरिएको धादिङको गजुरीस्थित भैरवनाथ गणका कर्णेल अशिम श्रेष्ठले जानकारी दिनुभयो । नेपाली सेनाले साना तथा ठुला जुनसुकै सवारी प्रयोग गर्ने र पैदल हिडेर आउजाउ गर्नेहरुलाई समेत चेकजाँच गरिरहेको छ । केहिलाई गोप्य सुचनाको आधारमा नियन्त्रणमा लिइएको उहाँले बताउनुभयो ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |