धादिङ जिल्लाले पूर्ण खोप सुनिश्चितता र दिगोपना प्रमाणिकरण प्राप्त गरेको छ । औपचारिक रूपमा प्रतिबद्धता पत्रमा हस्ताक्षर गर्दै यो महत्वपूर्ण उपलब्धिको घोषणा गरिएको हो । बागमती प्रदेशको १३ जिल्ला मध्ये पूर्ण खोप सुनिश्चितता र दिगोपनाको प्रमाणिकरण गर्नेमा धादिङ नै पहिलो जिल्ला बनेको छ ।
जिल्ला स्तरीय पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरण सभालाई सम्बोधन गर्दै बागमती प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री किरण थापाले पूर्ण खोप सुनिश्चितता अभियानमा धादिङले देखाएको सक्रियता र नेतृत्वको प्रशंसा गर्नुभयो । प्रदेशका अन्य जिल्लाहरूका लागि प्रेरणादायक उपलब्धि धादिङले देखाएको बताउँदै मन्त्री थापाले तीनै तहको सहकार्यबिना दिगो सुधार सम्भव नरहनेमा जोड दिनुभयो ।
प्रदेश सरकारले स्वास्थ्यको सबै क्षेत्रलाई आवश्यकता र समानताको आधारमा बजेट विनियोजन गर्दै आएको स्पष्ट पार्नुभयो । “स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता — पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता” भन्ने नारासहित आयोजित कार्यक्रममा बागमती प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री थापासहित सरोकारवालाहरुले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना लागि सामुहिक प्रतिवद्धता जनाएका छन् ।
नीतिगत निर्णय, नेतृत्व र स्थानीयस्तरमा खोप सेवा विस्तारमा देखिएको समर्पणलाई उच्च मूल्याङ्कन अभियान सफल बनाउन उल्लेखनीय भूमिका निर्वाह गर्ने पालिका प्रमुखहरू, स्वास्थ्य शाखा प्रमुखहरू र अन्य सरोकारवालाहरूलाई मायाको चिनो सहित सम्मान गरिएको छ ।
कार्यक्रमले धादिङ जिल्लामा स्वास्थ्य सेवामा स्थानीय स्वामित्व, समावेशी सहभागिता र दिगो सहकार्यको अभ्यास स्थापित भएको प्रमाणित गरेको छ । धादिङको सफलताको आधारमा अब अन्य जिल्लाहरूमा पनि समान प्रतिबद्धता र समन्वयमार्फत पूर्ण खोप सुनिश्चितताको अभियान विस्तार गर्ने अपेक्षा गरिएको छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |