नीलकण्ठ नगरपालिका वडा नम्बर ८ रामकोट हटिया चौतारामा सञ्चालित तीन महिने निशुल्क आधारभूत कम्प्युटर तालिम सम्पन्न भएको छ । अनन्त आशा नेपाल चितवन(टेको परियोजना) को आयोजना अनन्त आशा इन्टरनेशनलको आर्थिक सहयोग र नीलकण्ठ नगरपालिका तथा वडा कार्यालयको समन्वयमा आयोजना गरेको उक्त तालिममा ३५ जना विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
समापन समारोहमा सम्बोधन गर्दै वडा नम्बर ८ का अध्यक्ष प्रकाश कुमार श्रेष्ठले तालिमले विद्यार्थीहरूमा आत्मविश्वास थपेको उल्लेख गर्दै सिकेका सीपलाई आत्मनिर्भर जीवन निर्माणमा प्रयोग गर्न आग्रह गर्नुभयो । उहाँले यस किसिमका सीपमूलक तालिमहरूले युवाहरुलाई रोजगारीमुखी बनाउने विश्वास व्यक्त गर्नुभयो ।
त्यस्तै, नीलकण्ठ नगरपालिकाका प्रमुख भीम प्रसाद ढुंगानाले प्रविधिको युगमा कम्प्युटर ज्ञान अपरिहार्य भएको उल्लेख गर्दै नगरपालिकाले सीपमूलक तालिमलाई प्राथमिकतामा राख्दै आएको बताउनुभयो । यसैगरी जिल्ला अदालत धादिङका न्यायाधीश गोपाल बास्तोलाले युवा पुस्तालाई दक्ष जनशक्ति बनाउन यस्ता तालिम प्रभावकारी हुने बताउनुभयो ।
कार्यक्रममा विभिन्न संघसंस्था, विद्यालय, सहकारी संस्थाका प्रतिनिधि तथा समाजसेवीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । सहभागीहरूले तीन महिनाको तालिममा कम्प्युटरको आधारभूत सञ्चालनदेखि सामान्य अफिस प्याकेज र इन्टरनेट प्रयोगसम्म सिकेको अनुभव सुनाउदै व्यवहारिक रुपमा कार्यान्वयन गर्ने बताएका छन् ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |