डिभिजन वन कार्यालय धादिङमा ७ सय १७ मध्ये ३ सय ६१ वटा सामुदायिक वन नविकरण गर्न बाँकी रहेका छन् । पछिल्लो तथ्यांक अनुसार आर्थिक वर्ष २०८०÷०८१ सम्म ३ सय ६१ वटा सामुदायिक वन नविकरण गर्न बाँकी रहेका छन् ।
आर्थिक वर्ष २०८१÷०८२ को अन्त्य सम्ममा २८ वटा वन समुहको कार्ययोजनाको म्याद समाप्त हुदैछ ।यो आर्थिक वर्षको अन्त्य सम्मलाई आधार मान्ने हो भन्ने कुल ३ सय ८९ वटा सामुदायिक वनको नविकरण गर्नुपर्ने देखिएको डिभिजन वन कार्यालय धादिङका वन अधिकृत विष्णु प्रसाद आचार्यले जानकारी दिनुभयो ।
नविकरण गर्न बाँकी रहेका समूहलाई पालिकाको आधारमा विभाजन गर्दा निलकण्ठ नगरपालिकामा सबै भन्दा बढी ८२ वटा समुहको नबिकरण गर्नुपर्ने देखिएको छ । त्यस्तै ज्वालामुखी गाँउपालिकामा ५४ वटा, गल्छी गाँउपालिकामा ४८ वटा, सिद्धलेक गाँउपालिकामा ४६ वटा, गजुरी गाँउपालिकामा ४० वटा, बेनिघाट रोराङ गाँउपालिकामा ३६ वटा, थाक्रे गाँउपालिकामा २७ वटा, गंगाजमुना गाँउपालिकामा १५ वटा, धुनिबेशी नगरपालिकामा १४ वटा,त्रिपुरासुन्दरी गाँउपालिकामा १० वटा, खनियावास गाँउपालिकामा ८ वटा, नेत्रावती डवजोङ गाँउपालिकामा ६ वटा र रुविभ्याली गाँउपालिकामा ३ वटा समूहको नविकरण गर्न बाँकी रहेको आचार्यले बताउनुभयो ।
यसैगरी आ.व २०८०÷०८१ मा न्यून बजेटको बावजुद पनि विभिन्न पालिका, संघसस्था ,सरकारी निकाय र सुन्य मुल्यको गरि ६८ वटा कार्ययोजना नविकरण गर्न सफल भएको उहाँको भनाई छ ।
नविकरण गरिएका मध्ये डिभिजन वन कार्यालयको आफ्नो नियमित बजेटबाट २४ वटा, थाक्रे गाउँपालिकाको सहयोगमा १४ वटा, मुग्लिंग नौबिसे सडक खण्डबाट १० वटा, सामुदायिक वन उपभोक्ता महासंघ ७ वटा र डिभिजन वन कार्यालयको आफ्नै पहलमा नविनतम नविकरण पद्धति अनुसार सुन्य मूल्यका संक्षिप्त १३ वटा कार्ययोजना रहेका छन् ।
यो आर्थिक वर्ष भित्रमा सबै सामुदायिक वन नविकरण गरेर धादिङलाई सामुदायिक वन नविकरणयुक्त जिल्ला बनाउने महत्वाकांक्षी अभियानमा रहेको बताउदै अभियानमा साथ दिन सबैलाई आग्रह समेत गर्नुभएको छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |